Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

‘कोभिडका कारण पर्यटनमा मासिक रू. १० अर्ब घाटा’

‘कोभिडका कारण पर्यटनमा मासिक रू. १० अर्ब घाटा’

पोखरा, ३० असोज । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रलाई मासिक १० अर्ब रुपैयाँ बराबरको घाटा भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बताएका छन् । पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद्का समन्वयमा बिहीबार पोखरामा आयोजित ‘नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ रणनीति तर्जुमा कार्यशाला’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले उक्त तथ्यांक उल्लेख गरेका हुन् ।
भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भए पनि कोभिड–१९ ले अभियान सफल हुन नसकेको उनले बताए । आन्तरिक र बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण र पदयात्राका लागि बिस्तारै बुकिङ खुला हुँदै गएकाले अब वैकल्पिक पर्यटन खोजीसँग अघि बढ्नुपर्नेमा उनले जोड दिएको राससमा उल्लेख छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित देखिए पनि यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक खेललगायत ग्रामीण पर्यटनका लागि जोखिम नभएको दाबी गरे ।
कोभिड –१९ को असरले गण्डकी प्रदेशले रू. २७ अर्बको नोक्सानी बेहोरिसकेको भन्दै उनले अब पर्यटन चलायमान बनाउन ढिलाइ गर्न नहुने बताए । गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश संस्कृति, प्रकृति र साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै यसलाई ब्राण्डिङ गरेर जानुपर्ने धारणा राखे । यस्तै सांसद विद्या भट्टराईले अब कोभिड–१९ पछिको पर्यटनको अवस्थालाई अध्ययन गरेर नयाँ मार्ग सिर्जना गरी जानुपर्नेमा जोड दिइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x