आवको प्रथम त्रैमासमा विकास बजेट ४.२६ प्रतिशत मात्र खर्च
काठमाडौं, ३ कात्तिक । कोभिड–१९ को संक्रमण बढ्दै जाँदा मुलुकको विकास निर्माण प्रभावित भएका छन् । महामारीकै कारण लक्ष्य अनुसार काम हुन नसक्दा चालू आर्थिक वर्ष (आव)मा पूँजीगत खर्चमा पनि समस्या भएको छ ।
महालेखा परीक्षक कार्यालयको तथ्यांक अनुसार चालू आवको प्रथम त्रैमासमा विकास बजेट अर्थात् पूँजीगत खर्च रू. १५ अर्ब ४ करोड मात्र खर्च भएको छ, जुन कुल विकास बजेटको ४.२६ प्रतिशत मात्र हुन आउँछ । चालू आवमा सरकारले रू. ३ खर्ब ५२ अर्ब ९१ करोडको विकास बजेट ल्याएको छ ।
गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा समेत विकास बजेट खर्च २२ प्रतिशतले घटेको देखिन्छ । गत आवको सोही अवधिमा पूँजीगततर्फ रू. १८ अर्ब ३६ करोड भएको थियो ।
गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको यसै अवधिमा सरकारको चालू खर्च भने बढेको छ । गत आवको प्रथम त्रैमासमा चालूतर्फ १ खर्ब ५६ अर्ब रुपैयाँ खर्च भएको थियो । चालू आवको असोज मसान्तसम्म भने यस्तो खर्च रू. १ खर्ब ८२ अर्बभन्दा बढी भएको छ ।
आवको पहिलो त्रैमासमा सरकारको समग्र बजेट (चालू तथा पूँजीगत) खर्च भने २ खर्ब १ अर्ब रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कुल १ खर्ब ७८ अर्ब रुपैयाँ खर्च भएको थियो । सरकारले चालू आवमा रू. १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो, जसमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड र विकास बजेट ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ ।