सेतीनदी जलविद्युत् आयोजना तोकिएको समयमै सम्पन्न गरिने, हालसम्म ११ प्रतिशत काम सम्पन्न
बलराम बुढाथोकी
काठमाडौं, १८ कात्तिक । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको प्रवद्र्धनमा निर्माणाधीन सेतीनदी जलविद्युत् आयोजना निर्धारित समयमै सम्पन्न गरिने भएको छ । २५ मेगावाट क्षमताको उक्त आयोजनाको काम तीव्र पारिएको छ । २७ महीनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरू गरिएको आयोजनाको काम हालसम्म ११ प्रतिशत सकिएको छ ।
रसुवा लुना जेभीले निर्माणको जिम्मा पाएको आयोजना कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सेतीखोलामा निर्माण भइरहेको छ ।
हाल करिब ७० जना कामदार आयोजना निर्माणमा खटिएका छन् । अहिलेकै गतिमा काम भए तोकिएको समयमै आयोजना निर्माण सम्पन्न हुने सेतीनदी जलविद्युत् योजनाका प्रोजेक्ट मेनेजर ई. लेखनाथ पाण्डेले जानकारी दिए । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणले आयोजनामा कुनै किसिमको प्रभाव नपारेको भए पनि शुरुवाती दिनहरूमा झण्डै ४५ दिन काम रोक्नुपरेको पाण्डेको भनाइ छ ।
आयोजना निर्माणका लागि स्थानीयको उत्साहजनक सहयोग रहेको बताइएको छ ।
अन्य कतिपय जलविद्युत् परियोजना निर्माणमा स्थानीयको विभिन्न अवरोध रहने गरेकोमा यो आयोजनामा हालसम्म स्थानीयबाट कुनै किसिमको बाधा–अवरोध नआएको आयोजनाले बताएको छ । उक्त आयोजनामा स्थानीयहरू आफैले पनि लगानी गरेर काममा सहयोग गरिरहेका छन् ।
आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न आफ्नो पक्षबाट गर्नुगर्ने गृहकार्यमा कुनै कमीकमजोरी हुन नदिने कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जनकारी दिए । ‘आयोजना समयमै सम्पन गर्ने विश्वास लिएर काम गरिरहेका छौं । हामीले पारदर्शितालाई पनि उत्तिकै प्राथमिकतामा राखेर स्थानीयसँग मिलेर काम गरिरहेका छौं,’ उनले भने, ‘यसले काम गर्न सहज बनाएको छ ।’
यो आयोजना निर्माणका लागि गत असार १ गते ‘जेनेरेशन लाइसेन्स’ प्राप्त भएको थियो । उक्त मितिले २७ महिनाभित्र आयोजनाबाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको अध्यक्ष पोखरेलले जनाकारी दिए ।
हाल आयोजनाको ‘एप्रोच कल्भर्ट’ र पानी थिग्राउने पोखरी ‘सेटलिङ बेसिन’ खन्ने काम भइरहेको छ । जनशक्ति, मेशिन तथा उपकरणका साथ पूर्ण क्षमतामा काम भएको छ । निर्धारित समयभित्र आयोजना सक्ने गरी सिभिलतर्फको काम २ सिफ्टमा भइरहेको ई. पाण्डेले जानकारी दिए ।
सेटलिङ बेसिनबाट सफा पानी भूमिगत पाइप बिछ्याएर पावर हाउसमा १ सय ८७ मिटर उचाइबाट खसालिनेछ । सेटलिङ बेसिन रहने राजबगरबाट खारापानी, चिप्लेटी, चौरखरबारी, कसेरी गाउँ, राातोपानी हुँदै चिन्तेबगरमा निर्माण गरिने पावर हाउससम्मको दूरी ६.२ किलोमिटर छ । आयोजनाबाट उत्पादित बिजुली वर्षायाममा ६ महिना ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा नेपाल विद्युत् प्राधिकरणले खरीद गर्ने सम्झौता भएको छ ।
आयोजनाको सिभिलतर्फको काम रसुवा लुना जेभीले रू. १ अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता गरिसकेको छ । रू. ५ अर्ब लगानी हुने उक्त आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र ऋण लगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौता भइसकेको छ ।
आयोजनामा एनएमबी बैंकले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड गरी ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । बाँकी ३० प्रतिशत अर्थात् रू. १ अर्ब ५० करोड रकम प्रवर्द्धकका तर्फबाट लगानी गरिनेछ ।