४ वर्षमा नलगाड आयोजनाको डीपीआर ८५% मात्र सम्पन्न, शीघ्र काम नभए सम्झौता खारेज : मन्त्री पुन
काठमाडौं, ४ पुस । जलाशययुक्त नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मा चमरम ढिलासुस्ती भएको छ । सन् २०१६ मा तीन वर्षमा उक्त आयोजनाको डीपीआरको काम सक्नेगरी नलगाड जलविद्युत् कम्पनी र परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो । तर हालसम्म ८५ प्रतिशत मात्र काम सकिएको डीपीआरको जिम्मा पाएको अष्टे«लियन कम्पनी स्मेकले बताएको छ ।
जाजरकोटमा आयोजना स्थल रहेको कुल ४१७ मेगावाट क्षमताको उक्त आयोजनाको डीपीआरमा प्रगति नभएकोप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आपत्ति जनाएको छ ।
मन्त्रालयमा शुक्रवार वन ताथ वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसमेतलाई साथमा राखेर ऊर्जा मन्त्री वर्षमान पुनले परियोजनाको डीपीआरमा प्रगति नभएकामा गुनासो गर्दै शीघ्र काम नभए परामर्शदाता कम्पनीसँगको सम्झौता खारेज गर्ने चेतावनी दिएको राससमा उल्लेख छ ।
आयोजना प्रमुखसहितका कर्मचारी र डीपीआरको जिम्मा पाएको परामर्शदाताका प्रतिनिधिसँग मन्त्रीद्वयले छलफल गर्दै हालसम्म भएको प्रगतिका बारेमा जानकारी लिएका हुन् । सो आयोजनाको डीपीआरको काम अष्टे«लियन कम्पनी स्मेकले गरिरहेको छ । कम्पनीका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालले हालसम्म करिब ८५ प्रतिशत सकिएको र बाँकी १५ प्रतिशत कामका लागि समय थप गर्नुपर्ने प्रस्ताव गरेका थिए । सन् २०२१ को सेप्टेम्बरसम्ममा काम सकिने बताइएको छ ।
मन्त्रालयले भने कामको अध्ययन गरी आवश्यक समयमा उपयुक्त जवाफ दिने बताएको छ । अष्टे««लियन कम्पनी स्मेक, एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्तरूपमा डिपीआरको काम गरिरहेका छन् ।
यसअघि कम्पनीको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म ९ महिना दास्रोेपटक डीपीआरको समयावधि थप भइसकेको छ । यद्यपि अझै काम नसकिएको भन्दै ऊर्जामन्त्री पुन र जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित वनमन्त्री बस्नेतले परामर्शदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर छलफल गरेका हुन् ।