बिहीबार नेप्से परिसूचक १० अंकले वृद्धि, ७ अर्बभन्दा बढीको शेयर कारोबार
काठमाडौं, ३० वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक १० अंकले वृद्धि भएर बन्द भएको छ । गत कारोबार दिन झिनो अंकले वृद्धि भएको परिसूचक आज दोहोरो अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा बन्द भएको छ । आज कारोबार रकममा पनि वद्धि भएको छ । हिजो ५ अर्ब ३२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ७ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
२१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएर १८७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर ४९ करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ५८१ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा उद्योग समूह ०.६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.३ प्रतिशत र लगानी समूह ०.३९ प्रतिशत रहेका छन् ।