एकै दिन १३ अन्तरराष्ट्रिय उडान
काठमाडौं, ५ जेठ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधवार (एकै दिन) १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले बताएको छ ।
विमानस्थलले उपलब्ध गराएको तथ्यांकअनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ । नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्यतालिका छ । भारतको नयाँ दिल्लीमा नियमित एक उडान हुनेछ ।
यस्तै हिमालय एयरलाइन्सले चीनको कुनमिङमा तीन र दमाममा एक उडान गर्नेछ । मंगलवार ११ उडान निर्धारण गरिएको थियो । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी १० उडान सञ्चालन हुनेछन् । निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेको बताइएको छ ।
अन्तरराष्ट्रिय उडान माथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि नेपालमा अन्तरराष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगायतको थियो । आन्तरिक उडान पनि वैशाख १६ देखि स्थगित छ ।