Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेलम्ची आयोजनामा १ अर्बको क्षति, काठमाडौंमा पुनः पानी आउने समय अनिश्चित

मेलम्ची आयोजनामा १ अर्बको क्षति, काठमाडौंमा पुनः पानी आउने समय अनिश्चित

काठमाडौं, १० असार । गत साताको निरन्तर वर्षापछि गएको पहिराले ठूलो क्षति पुगेपछि सुरङ परीक्षण प्रभावित हुँदा मेलम्ची खानेपानी आयोजनाको पानी पुनः काठमाडौं आउने समय अनिश्चित बनेको छ । बाढीपहिरोले आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’बाहेक अन्य संरचनामा क्षति पुगेको र निर्माण सामग्री तथा कर्मचारी बस्न बनाइएका संरचना बगाउँदा १ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताएका छन् ।

उनका अनुसार मंगलवार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ ।

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले बताएको छ । निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिएको छ ।

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए । उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ ।

मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग (सडक) बनाउन आवश्यक रहेको उनले बताएका छन् ।

सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी पन्तले बताएका छन् । अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनको भनाइ छ ।

अम्बाथान अडिटको सुरुङ र हेडवर्क डाइभर्सन सुरुङ गरी दुई साता सुरुङ सफा गर्न सकेमा वैकल्पिक प्रणालीबाट काठमाडौंमा पानी ल्याउन सकिने आयोजनाले जनाएको छ । दुई महिनामा सुरुङ परीक्षणका लागि लाग्ने भनिएकोमा दुई–चार साता त्योभन्दा केही समय बढी लाग्न सक्ने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x