पुनर्निर्माण प्राधिकरणको कार्यप्रणाली कात्तिक मसान्तसम्म रहने
काठमाडौं, ११ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बिहीवार सम्पन्न प्राधिकरणको निर्देशक समितिको १९औं बैठकले आर्थिक वर्ष २०७७÷७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवास लगायतका पुनर्निर्माणका कामहरु सो अवधिसम्म सम्पन्न गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोभिड महामारीको दोस्रो लहर नियन्त्रणका लागि घोषणा गरिएको निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायतका काममा अवरोध आएकाले यसअघिको बहिगर्मन तथा हस्तान्तरण कार्ययोजना परिमार्जन गरिएको बताए ।
ज्ञवालीले यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८÷७९ को पहिलो चौमासिकभित्र ती कार्यहरु सम्पन्न गरिने र सोही अवधिमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणका कार्यलाई पनि एकैसाथ अघि बढाइने जानकारी दिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उल्लेखित कार्यका लागि आर्थिक वर्ष २०७८÷७९ को पहिलो दिनबाटै आवश्यक बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । बैठकले कोभिड–१९ महामारीको दोस्रो लहरका कारण काम सम्पन्न गर्न नसकेका निजी आवासका लाभग्राहीहरुलाई २०७८ कार्तिक मसान्तसम्मको समयावधि तोकी उक्त कार्यको फछ्र्यौट गर्ने निर्णय पनि गरेको छ ।