`हाम्रो समस्या नै विकासमैत्री नीतिको अभाव हो’ ः मन्त्री शर्मा
काठमाडौं, १७ माघ । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताए । ाइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताए ।
‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने, ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन् ।’ उनले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताए । सबै समस्याहरूको जड राजनीति भएको बताउँदै राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धरासायी भइनसकेको बताए । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाव दिए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि सुझाव रहेको थियो ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको उपस्थिति थियो ।