कोरोना संक्रमित हुँदा नागढुंगा सुरुङ निर्माण प्रभावित
काठमाडौं, २० माघ । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ । निर्माण क्षेत्रमा कार्यरत १ सय २७ जनामा कोरोना सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो ।
संक्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन । कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरु कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ। शारीरिक रुपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए ।
उनले भने, ’स्वास्थ्य मापदण्डका आधारमा पनि सक्छु भने पनि नेगेटिभ नआएसम्म काममा लगाउन सकिँदैन।’ निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकामा अहिले त्यो सङ्ख्या चार सय हाराहारीमा छ ।
आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले उल्लेख गरे ।
निर्माणस्थलमा नै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ ।
अहिले दैनिक ६÷ ७ मिटर मात्रै खनिरहेको छ । सुरुङ खन्न सुरु भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गत वर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए । उनले भने, ‘निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकामा अहिले सङ्क्रमण बढेकाले केही समस्या भएको छ ।’
आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झण्डै डेढमहिना ढिला छ ।
आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झण्डै ५६० जना रहेका छन्। जापानीज निर्माण कम्पनीका तर्फबाट झण्डै २० र तीन जना परामर्शदाता कम्पनीका तर्फबाट छन् । निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली रहेका छन् ।
विसं २०७६ असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी हाज्मा आङ्दो कर्पोरेशनसँग ठेक्का सम्झौता गरिएको थियो। सोही वर्ष कात्तिकमा आयोजनाको शिल्यान्यास भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो ।