बीमा व्यवसाय र शैक्षिक क्षेत्रबीचको अन्तर चुनौतीपूर्ण, मानव संसाधन विकासमा ठोस सहकार्यको खाँचो
काठमाडौं, १४, फागुन । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनुमा शैक्षिक क्षेत्र र बीमाक्षेत्रबीचको विद्यमान अन्तर कम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । एकातिर बीमा उद्योगले आवश्यकता अनुसार जनशक्ति पाउन नसक्ने, अर्कोतिर शैक्षिक बेरोजगारी बढ्नुमा यी दुई क्षेत्रबीच आपसी तालमेल र सहकार्यको अभाव चुनौतीको रूपमा रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल री)ले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘इन्डस्ट्री एकेडेमिया लाइलग’ कार्यक्रमका सहभागीहरूले बताएका हुन् । यसका लागि शैक्षिक क्षेत्रले बजार माग अनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने र बीमाक्षेत्रले यसमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा नेपाल री इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले मावन संसाधन विकासमा बीमाक्षेत्र र शैक्षिक क्षेत्रका चुनौती पहिल्याएर सहकार्य अघि बढाउने अभियानको थालनीस्वरूप कार्यक्रम आयोजना गरिएको बताए । बीमाक्षेत्रमा जनशक्तिको अभाव, ‘मिसम्याच’ जस्ता समस्याको पहिचान र समाधानका लागि नेपाल रीले अनुसन्धान तथा विकास विगाग नै खडा गरेको भन्दै उनले अनुसन्धानको काममा बीमाका अन्य सरोकारवालाहरूको पनि जिम्मेवारी स्पष्ट हुनुपर्ने औंल्याए । सहकार्यमार्फत गरिएको कामले ठोस नतीजा दिने र यसले समग्र बीमा क्षेत्रलाई नै लाभ हुने उनले बताए ।
कार्यक्रममा बीमाक्षेत्रको तर्फबाट प्रस्तुति दिँदै बीमा समितिका निर्देशक सुशीलदेव क्षेत्रले नेपालको सन्दर्भमा बीमक र बीमितबीच नै ठूलो खाडल रहेको बताए । तर यसमा एक क्षेत्रले अर्कोलाई दोषी देख्ने प्रवृत्ति रहेको उनले औंल्याए । ‘आपसी सहकार्य, समन्वय र आवश्यक समझदारी नै भएन,’ उनले भने, ‘समस्या पहिचानमा आत्ममूल्यांकन समेत भएन, जुन ठूलो समस्या हो ।’ दुई क्षेत्रबी रहेको ठूलो अन्तर नघटेसम्म बीमाको दिगो वृद्धि र विकास हुन नसक्ने उनको भनाइ छ । प्रस्तुतिकरणकै क्रममा उनले हाल जीवन बीमा व्यवसायको वार्षिक वृद्धि ३३ प्रतिशत, निर्जीवन बीमाको २० प्रतिशत र कुल राष्ट्रिय उत्पादनमा बीमाशुल्कको योगदान ३.५६ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा युनिग्लोब कलेजका प्राचार्य डा. नरबहादुर विष्टले एकेडेमियाको तर्फबाट प्रस्तुतीकरण गरेका थिए । बीमा क्षेत्रको दायरा ठूलो भएर पनि विद्यार्थी आउन नसक्नुका कारण पहिचान गर्नुपर्ने बताए । इन्डस्ट्री र एकेडेमिया आआफ्नै ढंगले चल्ने गरेकाले पनि जनशक्ति व्यवस्थापनमा समस्या भएको उनको बुझाइ छ । यसका लागि ठोस अनुसन्धान र व्यावहारिक एवं प्रयोगात्मक शैक्षिक कोर्सको खाँचो उनले औंल्याए । ‘अनुसन्धानको जिम्मा एकेडेमियाले लिनुपर्छ,’ उनले भने, ‘तर त्यो डिग्री लिने खालको मात्र हुनु भएन, बजारको माग अनुसार हुनुप¥यो ।’
कार्यक्रममा सहभागी विभिन्न विश्वविद्यालयका डीनहरूले समस्या र चुनौती दुवै क्षेत्रमा रहेको भन्दै यसको निकासका लागि अपसी सहकार्य र समझदारी हुनुपर्नेमा जोड दिएका थिए । सहभागी वक्ताहरूले सबै विश्वविद्यालयको व्यवस्थापन कोर्स एकै प्रकृति रहनु र नयाँ कार्यक्रम आउन नसक्नले शैक्षिक बेरोजगारी बढाएको बताए । चाहिएको ठाउँमा जनशक्ति नहुने तर नचाहिएको ठाउँमा धेरै उपलब्ध हुने समस्या निराकरणका लागि शैक्षिक क्षेत्रले पनि गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको बताइएको छ ।
कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले हाल बीमा क्षेत्रको जनशक्तिका लागि धेरै लगानी गर्नुपर्ने अवस्था रहेको बताए । आवश्यकता अनुसार जनशक्ति विकास नहुँदा एकबाट अर्कोमा स्थानान्तरण मात्र भइरहेको उनको भनाइ छ । इन्डस्ट्रीमा आएर सीधै काम गर्न सक्ने जनशक्तिको खाँचो रहेको भन्दै उनले यसका दुवै क्षेत्रले सहकार्य गर्नुपर्ने बताए ।
यस्तै नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा क्षेत्रलाई आवश्यक पर्ने मानव संसाधन विकासमा लगानी गर्न बीमा उद्योग सधैं तयार रहेको बताएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयहरूसँग हातेमालो गरेर अघि बढ्ने बताए ।
बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले इन्डस्ट्री र एकेडेमियाबीचको अन्तर हटाउँदै बीमा क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए । बीमा अझै पनि आम जनताको सरोकारको विषय बन्न नसक्नु विडम्बना भएको भन्दै उनले यस क्षेत्रको विकासका लागि अनुसन्धान र नवप्रवर्तनात्मक प्रडक्टको आवश्यकता दर्शाए ।
कार्यक्रममा विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले बीमा क्षेत्र र शैक्षिक क्षेत्रबीच रहेको अन्तर पहिचानमा नेपाल रीले गरेको सो कार्यक्रम शुरुआत भएको र यसले निरन्तरता पाएमा ठोस निष्कर्षमा पुग्न सकिने बताए । समय र आवश्यकता अनुसारको मानव संसाधन विकासका लागि विश्वविद्यालयहरूले आफ्ना शैक्षिक कार्यक्रममा पुनरवलोकन गर्नुपर्ने बेला आएको उनको धारणा थियो ।
कार्यक्रम समापन गर्दै नेपाल री इन्स्योरेन्सका अध्यक्ष डा. रवीन्द्र घिमिरेले संस्थाले आयोजना गरेको उक्त कार्यक्रम इन्डस्ट्री र एकेडेमियाबीच संवाद एवं सहकार्य थालनीको सूत्र भएको बताए । यस क्षेत्रको समस्या, माग, आवश्यकता र अपेक्षा परिपूर्तिका लागि इन्डस्ट्री र एकेडेमियाबीचको समन्वय अपरिहार्य हुनेमा उनले जोड दिए । संस्थाले यस्ता कार्यक्रममलाई आगामी दिनमा पनि निरन्तरता दिने र यसमा सरोकारवाला सबैको साथ र सहयोगको खाँचो रहेको उनले बताए ।