वसन्त ऋतुको आरोहणका लागि तयारी शुरु, युद्धको प्रभावले पर्यटक घट्ने अनुमान
काठमाडौं, ५ चैत । हिमाल आरोहणको मुख्य समय मानिने वसन्त ऋतु शुरु भएसँगै आरोहणका लागि तयारी शुरु भएको छ ।
आरोहणका लागि अनुमति लिने विदेशी पर्यटक आउने क्रम जारी रहेकोसँगै आरोहणलाई थप सहजीकरण गर्न काम सुरु गरेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिए ।
आरोहणका लागि रुट (बाटो) निर्माण गर्न सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट आइसफल डाक्टर आधार शिविरतर्फ पठाइ सकिएको र आधार शिविरमा अनुगमनका लागि सरकारी प्रतिनिधि (सम्पर्क अधिकृत) पठाउन छनाेटको काम सम्पन्न भइसकेको छ । आइसफलदेखि क्याम्प दुईसम्मको बाटोमा पर्ने क्रेभासको हिउँ सफा गर्ने, डोरी टाँग्ने, बाटोमा आवस्यक भ¥याङ राख्ने कामहरु आइसफल डाक्टरले गर्ने गर्दछ ।
सगरमाथा, ल्होत्से, नुप्से, पुमोरी हिमालका लागि एउटै आधार शिविर प्रयोग गर्ने भए पनि अन्य हिमाल आरोहणका लागि समेत रुट निर्माणका लागि तयारी सुरु गरेको विभागले जनाएको छ । विभागले सगरमाथा आरोहणका लागि एक पटकमा ७५ दिन अनुमति दिने गरेको छ भने अन्य हिमालका लागि भने उचाइ अनुसार ४५ दिनभन्दा माथि समय दिने गरेको छ ।
सगरमाथा आरोहीको सङ्ख्यामा गतवर्षको भन्दा यस वर्ष कमी आउने व्यवसायीहरुले जनाएका छन् । युक्रेन र रुसको युद्धका कारण पनि यो वर्ष ३० प्रतिशत बढी आरोहीले आरोहण रद्द गरेको बताइएको छ ।