‘आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न औद्योगिक विकासमा जोड दिऔं’
काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रहेको छ ।
छलफलमा सहभागी हुँदै सत्तापक्षका सांसदले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त व्यावहारिक तथा वैज्ञानिक भएको तर्क गरे । प्रमुख विपक्षी दलका सांसदले भने दिशाहीन र लक्ष्यहीन रहेको आरोप लगाएका छन् । आयातमुखी अर्थतन्त्र हुनु, आन्तरिक उत्पादन बढाउने र आयात विस्थापन गर्दै निर्यात बढाउनका लागि पहल गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
विदेशी मुद्राको सञ्चिती कम हुँदै गएको, शोधान्तर घाटा बढिरहेका बेला त्यसलाई समाधानका लागि तत्काल पहल गर्नुपर्ने उनीहरुको भनाइ थियो । छोकडा, सुपारी, मरिच जस्ता सामग्रीको आयात रोक्नुपर्नेमा त्यसलाई खुला गरिएकामा प्रतिपक्षी दल सम्बद्ध सांसदले सरकारको आलोचना गरेका छन् ।