नेप्से ७.५६ अंकले घट्यो
काठमाडौं, ३ असार । नेप्सेले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार हुने गरी समय तय गरेअनुसार आज पहिलो कारोबार भयो ।
दिउँसो १ बजे बन्द भएको शेयर बजार ७.५६ अंकले घटेर १९७१.३६ अंकमा रोकिएको छ । यससँगै अब शेयर कारोबार साताको ६ दिन नै हुने भएको हो । आइतबारदेखि बिहीबारसम्म भने अपरान्ह ११ बजेबाट तीन बजेसम्म कारोबार हुने भएको छ ।
शुक्रबार २२० कम्पनीको १५ हजार १६३ वटा कारोबार हुँदा २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच भएको छ । यस दिन ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
शुक्रबार म्युचल फन्डबाहेक सबै उपसमूहको मूल्य घटेको छ । जसमा सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताले गुमाएका छन ।