मोफसलका विमानस्थलमा रात्रिकालीन पार्किङ शुरू
काठमाडौं, १४ असार । आन्तरिक वायुसेवा कम्पनीहरूले मंगलवार बिहानदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)बाहेकका आधा दर्जन विमानस्थलबाट पहिलो उडान गर्ने भएका छन् । टीआईएबाहेकका विमानस्थललाई रात्रिकालीन बेस बनाउन आनाकानी गरेका वायुसेवा कम्पनीहरूले उडान तालिका स्वीकृत गराएसँगै राति उपत्यकाबाहिरकै विमानस्थलमा पार्किङ गरी पहिलो उडान त्यहीँबाट शुरू गर्न लागेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो बिहानदेखि नै पहिलो उडान शुरू गर्नेगरी काठमाडौं बाहिरका आठवटा विमानस्थल तोकेको थियो । टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले ९ वटै एयरलाइन्स कम्पनीले तोकिएका विमानस्थलमा रात्रिकालीन पार्किङ गर्ने र त्यहीँबाट पहिलो उडान गर्नेगरी उडान तालिका र संख्या स्वीकृत गराइसकेको जानकारी दिए ।
उनले प्राधिकरणको उक्त निर्देशन कार्यान्वयनमा आएको बताए । योसँगै आन्तरिक विमानस्थलमा हुँदै आएको पार्किङको समस्या, हवाई सुरक्षा जस्ता पक्षमा सुधार हुने उनले बताए । आफूसँग भएका जहाज संख्याअनुसार सबै एयरलाइन्सले ३३ प्रतिशत जहाज तोकिएका विमानस्थलमा राख्नेछन् ।