Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

काठमाडौं, ८ साउन । सरकारले सन्  २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा पर्यटन क्षेत्रको  ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आइतबार कार्ययोजना सार्वजनिक गरे । ७३ बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले भने ‘विगतमा नेपालले भ्रमण वर्ष भनेर पर्यटन प्रवर्द्धनको काम गर्ने गरेको थियो । तर यो वर्षबाट हामीले दशकलाई नै पर्यटन वर्ष मनाउनेगरी पर्यटन दशक भनेर मनाउने सोच अगाडि बढाएका छौं । यो पर्यटन प्रवर्द्धन, पर्यटन विकासको अभियान हो । एक दिनमा वा एक वर्षमा कार्य सम्पन्न हुने कुरा होइन । निरन्तर रुपमा हामीले लैजानुपर्छ ।’ मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउनेगरी काम गर्ने तयारी गरेको बताए । नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभई सरकारको कार्ययोजना भएको उनले बताए । भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको उनको भनाइ छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिएको बताए । उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्ययोजना बनाएको पनि बताए । सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने बताए ।

मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने घोषणा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x