पर्यटन पुनरुत्थानका लागि यस्तो छ सरकारको ७३ बुँदे योजना
काठमाडौं, ९ साउन । सरकारले पर्यटन क्षेत्र पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना ल्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो पहिलो निर्णयअनुसार कार्ययोजना सार्वजनिक गरेका हुन्।
असार १३ गते मन्त्रालयको पदभार ग्रहण गर्दै उनले पर्यटन पुनरुत्थान कार्ययोजना बनाउने निर्णय गरेका थिए। मन्त्री श्रेष्ठले विगतका मन्त्रीहरुले तयार पारेको प्रतिवेदनको आधारमा समिति बनाई कार्ययोजना बनाइएको समेत जानकारी दिएका छन्।
कार्ययोजनामा कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न मुख्य जिम्मेवार निकाय र अवधि उल्लेख गरिएको छ। योजनामा १ महिनेदेखि सधै निरन्तराता दिनेगरी दीर्घकालसम्मका योजना समेटिएको छ।
होमस्टे सञ्चालनदेखि पर्यटन नीति, हवाई नीति, राष्ट्रिय नीति, पर्यटन ऐन, नेपाल पर्यटन बोर्ड ऐन, प्रतिलिपि अधिकार ऐन, र पर्वतारोहण नियमावली लगायतका विषयमा सुधार तथा संशोधन गरि पर्यटन पुनरुत्थान गर्ने सरकारको योजना रहेको छ।