Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हिमालयन बैंक र बीओकेले चीनबाट फिर्ता पाए काउन्टर ग्यारेन्टी बापतको १ अर्ब ८७ करोड

हिमालयन बैंक र बीओकेले चीनबाट फिर्ता पाए काउन्टर ग्यारेन्टी बापतको १ अर्ब ८७ करोड

काठमाडौं, ८ भदौ । हिमालयन बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके)ले चिनियाँ बैंकको काउन्टर ग्यारेन्टीमा फसेको पैसा फिर्ता पाएका छन् । मेलम्ची खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनी चाइना रेल्वेले काम छाडेपछि हिमालयन र बिओकेले उक्त काउन्टर ग्यारेन्टी बापत फसेको करिब १ अर्ब ८७ करोड रुपैयाँ फिर्ता पाएका हुन् ।

यस विषयमा चीनमा परेको मुद्दामा हालै यी दुई बैंकको पक्षमा फैसला भएको थियो । फैसला अनुसार हिमालयनले ६६ लाख अमेरिकी डलरबराबरको काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता पाएको छ । यस्तै बीओकेको ६६ लाख २५ हजार अमेरिकी डलर र १४ लाख ११ हजार यूरो फिर्ताआएको छ ।

हिमालयन बैंक र बीओकले मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार चाइना रेल्वेको चाइना कन्स्ट्रक्सन बैंकको बैंक ग्यारेन्टीलाई काउन्टर ग्यारेन्टी दिएका थिए । नेपालमा विदेशी बैंकको बैंक ग्यारेन्टी (जमानत) नचल्ने भएकाले नेपाली बैंकहरू चिनियाँ कन्स्ट्रक्सन बैंकको जमानतको आधारमा काउन्टर ग्यारेन्टी बसिदिएका थिए ।

यसअघि बैंक अफ काठमाडौं र हिमालयन बैंकले काउन्टर बसिदिए बापतको रकम चाइना कन्स्ट्रक्सन बैंकसँग मागे पनि चिनियाँ ठेकेदारले अदालतबाट स्टे अर्डर लिएको भन्दै चिनियाँ बैंकले पैसा दिएन । पैसा नपाएपछि हिमालयन र बीओकेले पुनः त्यहाँको उच्च अदालत गएका थिए । उच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेर पुनः जिल्ला अदालत पठाएको थियो । ठेकेदार कम्पनीले पुनः अपिल गरेकोमा उक्त मुद्दा हारेपछि नेपाली बैंकले पैसा पाएका हुन् । यस मुद्दामा वरिष्ठ अधिवक्ता गान्धी पण्डितले नेपाली बैंकको तर्फबाट बहस गरेका थिए ।

पछिल्लो समय मुलुकको शोधनान्तर स्थिति कमजोर बन्दै गएको एवं तरलता अभाव कायमै रहेको अवस्थामा उक्त रकमले यसमा ठूलो टेवा पुग्ने देखिएको छ । तरलता अभावकै कारण माग अनुसार कर्जा प्रवाह गर्न नसकिएको स्थितिलाई यसले धेरै हदसम्म सहज पुग्ने बैंकको अपेक्षा छ । साथै, हिमालयन बैंकको सन्दर्भमा उक्त रकम गत आर्थिक वर्षको वित्तीय विवरणमा समेत उल्लेख गर्न पाइने बैंक स्रोतले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x