मैदाको समस्या टर्दै
काठमाडौं,९ भदौ । भारत सरकारले गत वैशाख ३० गते देखी नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको कारण देशका मैदा उद्योगहरुले भोग्न परेको समस्या अब टर्ने भएको छ ।
नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको अध्यक्षतामा आज गएको प्रतिनिधी मण्डलले उद्योग वाणिज्य सचिव समक्ष भेटगरी मैदा उद्योगहरुले भोग्न परेको समस्याको अवगत गराएको थियो ।
उक्त बैठकमा सचिवले स्वदेशी उद्योग संरक्षण गर्न नेपाल सरकारको तर्फबाट गहुँ आयातको प्रकृया अगाडी बढिसकेको हुँदा आजनै सम्बन्धित निकायमा पत्र पठाएको जानकारी गराए । सरकारले गरेको प्रकृया हेर्दा अब गलभग १५ देखी २० दिनमा नेपालमा गहुँ आउने देखिएकोले स्वदेशी मैदा उद्योग सुचारु हुने भएको छ । गहुँ आयातमा नेपाल सरकारले देखाएको सकारात्मक कदमको लागि संघले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ ।
नेपालमा ३६ वटा मैदा मिल संचालनमा रहेकोले चालु आर्थिक वर्षको लागि लगभग १० लाख टन गहुँ आवश्यक पर्ने हुंदा घरेलु उत्पादनले मात्र यहाँको मागलाई धान्न नसकेकोले भारतबाट आयात गर्नु पर्ने बाध्यता छ । ३.५ लाख टन गहुँ आन्तरिक उत्पादनबाट परिपूर्ति हुन्छ भने बाँकी गहुँ आयात गर्नु पर्ने बाध्यता रहेको संघका अध्यक्षले बैठकमा जानकारी गराए । गहुँको यथार्थतालाई सचिवले सकारात्मक रुपमा लिएका छन् भने उनले जतिसक्दो छिटो समस्या समाधान गर्ने आश्वासन दिए ।