‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’को कार्यान्वयन शुरू हुँदै
काठमाडौं, ७ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयनको तयारीमा जुटेको छ । यो कार्यक्रमको कार्यान्वयन दशैँअघि नै सुरु हुने मन्त्रालयले जनाएका छ ।
यो कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा १० अर्ब रुपियाँ छुट्याइएको छ । यो कार्यक्रम कार्यान्वयन स्थानीय तहमार्फत गर्ने गृहकार्यमा कृषि मन्त्रालय लागेको छ । कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। प्रकाश सञ्जेलले स्थानीय तहमार्फत कार्यान्वयन गर्ने निर्णय भएअनुसार विभिन्न कार्यक्रम तथा मापदण्डको प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिएको जानकारी दिए ।
‘जुन खाद्यवस्तु सबभन्दा बढी आयात हुन्छ, त्यसलाई लक्षित गरेर कार्यक्रम बनाएका छौँ । भन्सार विभागको तथ्याङ्क हेर्दा सबभन्दा बढी धान, मकै, हरियो तरकारी, आलु, दूध, मासु, माछालगायतका खाद्यवस्तु आयात भएको देखिन्छ । यी वस्तुको उत्पादन कसरी वृद्धि गर्न सकिन्छ, त्यसको कार्यक्रम बनाएर अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ,’ उनले भने, ‘कृषि मन्त्रालयले केही उद्योगलाई पनि यो कार्यक्रममा समावेश गरेको छ ।’
यो कार्यक्रम सञ्चालनका लागि मापदण्ड तयार भएको मन्त्रालयले जनाएको छ । ‘हरेक स्थानीय तहमा हरेक कार्यक्रम जाँदैन । जहाँ जुन बालीको आवश्यकता छ, जहाँ जुन बाली राम्रो उत्पादन हुन्छ ती ठाउँमा त्यही बालीको कार्यक्रम लैजान्छौं,’ उनले भने, ‘एउटा स्थानीय तहमा एउटा र एकभन्दा बढी कार्यक्रम पनि हुन सक्ने मन्त्रालयले जनाएको छ ।’