‘तरलता अभाव र बढ्दो ब्याजले उद्योग व्यवसाय संकटमा’
काठमाडौं, ९ असोज । लामो समयदेखि बैंकिङ प्रणालीमा तरलता अभाव र बढ्दो ब्याजले उद्योग व्यवसाय संकट उन्मुख बन्न थालेको उद्योगी व्यवसायीले बताएका छन् । चितवन उद्योग संघको ३१औँ साधारणसभामा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक अभावले नेपालका उद्योग व्यवसाय धराशयी बन्दै गएको बताए । साथै उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको उनले बताए ।
‘विगत तीन वर्षदेखिको तरलता अभाव र अहिले भएको ब्याजदर वृद्धिले उद्योगी पलायन हुने स्थिति आएको छ,’ उनले भने, ‘त्यसले गर्दा नेपालका उद्योग धराशयी बन्दै गएका छन् ।’ सात प्रतिशतमा रहेको ब्याजदर अहिले बढेर १४ प्रतिशतमा पुगेको जनाउँदै उनले यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
नेपालका उद्योगहरूले आयात प्रतिस्थापन गर्न सक्ने गरी काम अघि बढाउनुपर्ने उनको भनाइ थियो । ‘निर्यातलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु आजको अवश्यकता हो,’ उनले भने । आयातलाई प्रतिस्थापन गर्नका लागि उद्योगहरू खुलेर उत्पादन बढाउन आवश्यक रहेको उनले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले देशमा यही अवस्था रहे आर्थिक सङ्कट आउन सक्ने बताए । ब्याज बढ्ने र लगानी गर्ने पैसा पाउन कठिन हुने हुँदा आर्थिक सङ्कटको स्थिति आउने उनको भनाइ थियो ।