३ महिनामा ६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात
काठमाडौं, १ कात्तिक । चालू आर्थिक वर्षको ३ महिनामा नेपाल आयल निगमले ६ लाख ३२८ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको छ । सो अवधिमा डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इनधन र ग्यास ६८ अर्ब ९६ करोड ८३ लाख ४३ हजार रुपैयाँ बराबरको आयात भएको छ । यसबाट १४ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
उक्त अवधिमा एक लाख ७४ हजार एक सय किलोलिटर पेट्रोल, दुई लाख ६४ हजार ३६२ किलोलिटर डिजेल आयात भएको छ । यस्तै मट्टीतेल दुई हजार ३८० किलोलिटर, हवाई इन्धन ३६ हजार किलोलिटर र ग्यास एक लाख १८ हजार २९५ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्याङ्क छ । बजारमा खपत बढेसँगै इन्धनको आयात बढ्दै गएको निगमको भनाइ छ ।
साउनदेखि हालसम्म इन्धन आयात गरेर भन्सार शुल्कबापत आठ अर्ब ५० करोड रुपैयाँ सङ्कलन भएको निगमले जनाएको छ । यस्तै पूर्वाधार करबापत चार अर्ब ३८ करोड ४६ लाख २० हजार रुपैयाँ, सडक मर्मत दस्तुरबापत एक अर्ब २२ करोड र प्रदूषण करबापत ६५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको निगमले जनाएको छ ।