नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारणसभा सम्पन्न, १५. ७८९ प्रतिशत बाेनस पारित
काठमाडाैं, १८ मंसिर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३४ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । आइतवार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश पारित गरेको छ । लगानीको प्रतिफल राम्रो रहेको यस कम्पनीले आगामी दिनमा दीर्घकालीन लगानीका स्रोत पहिचान गर्दै उच्चतम प्रतिफल दिने लक्ष्य राखेको छ ।
यस्तै पछिल्लो समय यो कम्पनी जीवन बीमा व्यवसायमा थप आक्रामक बन्दै गएको छ ।मुलुक अग्रणी जीवन बीमा कम्पनीको रूपमा स्थापित नेशनल लाइफले विगतदेखि नै आकर्षक लाभांश दिँदै आएको छ ।जीवन बीमा क्षेत्रमा सबल र प्रतिस्पर्धी क्षमता हासिल गरेकोयस कम्पनीको लघुबीमा व्यवसायमा समेत उत्साहजनक उपस्थिति देखिएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्षमी सिंहले बताइन् ।
कम्पनीले २०४५ सालमा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । उल्लेख्य व्यावसायिक सुधार तथा छलाङले दोस्रो बजारमा पनि कम्पनीको शेयरमूल्यमा आकर्षण देखिन्छ । साथै व्यवसाय विस्तारका क्रममा कम्पनी लोकल प्रडक्टका बीमा पोलिसी ल्याउने गृहकार्यमा रहेको कम्पनीका सीईओ सुरेश प्रसाद खत्रीले बताए ।
नेपालमा बीमाको बढ्दो आवश्यकता परिपुर्ति गर्ने उद्देश्यले २०४४ फागुन १० गतेदेखि कम्पनीले बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनीले आफ्नो सेवा सुविधामा समयसापेक्ष सुधार र स्तरोन्नतिमा समेत जोड दिएको छ । बीमा शुल्क संकलनमा समेत राम्रो अवस्थामा रहेको कम्पनीले आवश्यकताका आधारमा शाखा सञ्जाल विस्तार गर्ने रणनीति लिएको छ । हाल नेशनल लाइफ इन्स्योरेन्सको चुक्तापूँजी रू. ४ अर्ब ३ करोड ५१ लाख रहेको छ । निर्धारित बोनश शेयर पारित भएसँगै कम्पनीको चुक्तापूँजी ४ अर्ब ६४ करोडभन्दा बढी पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीलेरू. ४० करोड ८८ लाख खुद नाफा कमाएको थियो, जुन संचालनमा रहेका जीवन बीमा कम्पनीहरू मध्ये सबैभन्दा बढी हो ।