लगानी प्रतिबद्धतामा करिब २० प्रतिशतको कमी
काठमाडौं, २० मंसिर । चालू आर्थिक वर्षको चार महिनामा नेपालमा लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागका अनुसार सो अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत एक खर्ब आठ अर्ब १२ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ, जुन गत आर्थिक वर्षको चार महिनाको अवधिमा चालू आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ८२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको समीक्षा अवधिमा एक खर्ब ३४ अर्ब ८६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।।
यस्तै चालू आर्थिक वर्षको चार महिनाको अवधिमा आएको उक्त लगानी प्रतिबद्धता भने ९८ वटा उद्योग तथा सात हजार ५९ जनालाई रोजगारीसहित भएको विभागका अधिकारीले जानकारी दिएका छन् । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग दर्ता हुन्छन् । सोही क्रममा स्वदेशी र विदेशी लगानीकर्ताहरुले चालू आवमा सबैभन्दा बढी ऊर्जाजन्यमा ७६ अर्ब ४९ करोड ९५ लाख रुपैयाँ, उत्पादनजन्यमा नौ अर्ब ७१ करोड १५ लाख रुपैयाँ, सेवाजन्यमा आठ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ, पर्यटनजन्यमा १३ अर्ब दुई करोड २४ लाख रुपैयाँ, सूचना सञ्चार तथा प्रसारण प्रविधिजन्यमा ३१ करोड रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा १५ करोड रुपैयाँ र खनिजजन्यमा १० करोड ५७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
ऊर्जाजन्य २३ वटा, उत्पादनजन्य ३२ वटा, सेवाजन्य १५ वटा, पर्यटनजन्य २२ वटा, सूचना प्रविधिजन्य चारवटा, कृषि तथा वन पैदावरजन्य एउटा र खनिजजन्य एउटा स्थापना गर्न लागि उक्त लगानी प्रस्ताव गरेका हुन् । पर्याप्त पानी र उपयुक्त भू–बनोटको कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा अर्थात् विद्युत् गृह स्थापना गर्न आकर्षित भएको पाइन्छ ।