होटेल तथा रेष्टुरेन्टलाई स्तरीकरणको लोगो वितरण
पोखरा, २१ मंसिर । पोखराको लेकसाइडस्थित होटेल तथा रेस्टुरेन्टलाई सूचकांका आधारमा स्तरीकरणको ‘लोगो’ वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा यहाँका होटेल तथा रेस्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण थालनी गरेको हो ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) र होटेल एशोसिएशन नेपाल (हान) सहकार्यमा पोखराका १४ रिसोर्ट, होटेल तथा रेस्टुरेन्टलाई स्तरीकरणसँगै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए । उनका अनुसार खाद्य स्वच्छताका आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० सूचकलाई आधार मानेर होटेल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्यांकन गरिएको हो । एउटा सूचकलाई दुई नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दामाथि अंक ल्याउने होटेल मा अति उत्तम (थ्री स्टारसहितको हरियो), ८०–८९ अंक ल्याउने उत्तम (टु स्टारसहितको हरियो), ६५–८९ अंक ल्याउने सन्तोषजनक (वान स्टारसहित हरियो) र ५०–६४ अंक ल्याउनेलाई सामान्य (पहेँलो) लोगो टाँसिने कुँवरले जानकारी दिए ।
सूचकांकका आधारमा माउन्ट कैलाश, फ्रेस इलेमेन्ट, वरपीपल रिसोर्ट, होटेल सरोवर, टेम्पल ट्रि रिसोर्ट र अतिथि रिसोर्टलाई उत्तम होटेल ले स्तरीकरण लोगो प्राप्त गरेका छन् । यस्तै मेट फाइभ, हवर क्याफे, प्याराडिसो, डुङ्गा रेस्ट्रो, मुन डान्स, होटेल सहारा र होटेल आइसल्यान्ड सन्तोषजनक होटेल मा पर्न सफल भएका छन् ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले पर्यटकीय सहरमा यो अभ्यासले गणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्तरीकरणको लोगो प्रदान भएपछि अन्य होटेल तथा रेस्टुरेन्टहरू पनि जिम्मेवार भएर यसतर्फ ध्यान दिने उनको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले आफ्नो होटेल तथा रेष्टुरेन्टमा स्तरीकरणको लोगो र प्रमाणपत्र राख्का लागि व्यवसायीबाट निवेदन आएका सूचकलाई आधार मानेर स्तरीकरण गर्न सकिने बताए । उनले अनुगमनका क्रममा सेवा प्रवाहमा देखिएका कमी–कमजोरी सुधार गर्न सुझाव दिने गरिएको बताए । रासस