५ महीनामा करिब साढे १२ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं, ३ पुस । चालू आर्थिक वर्षको पाँच महिनामा करीब साढे १२ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी लगानीमा ९१ वटा साना उद्योग, १९ मझौला र एउटा ठूलो उद्योग दर्ता भएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवामूलक र पर्यटन परियोजनामा आएको छ ।
विभागका अनुसार पाँच महिनामा उत्पादनमूलक परियोजनामा सात, पर्यटनमूूलक ४७, सेवामूलक ५२, सूचना प्रविधिमा आधारित तीन र पूर्वाधारको एक परियोजनामा लगानी प्रतिबद्धता आएको छ । ती परियोजनाबाट छ हजार ५०९ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
यो पाँच महिनाको अवधिमा ७५३ लगानीकर्ता, ८० प्रतिनिधि, १९७ जना आश्रित व्यक्तिलाई बिजनेस भिसा सिफारिस गरिएको विगागले जनाएको छ ।