प्रभु बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच फास्ट बैंकिङ सेवाका लागि सम्झौता
काठमाडौं, २५ माघ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनका लागि सम्झौता भएको छ । फास्ट बैंकिङ नेपाली बैंकिङ जगत्मा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्या समाधान गर्ने उद्देश्यले ल्याइएको ओम्नी च्यानल सोलुसन हो ।
सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेका छन् । सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । साथै, खुला एपीआईमार्फत बैंकका थप सेवालाई मोबाइल बैंकिङमा जोड्न सकिनेछ । फास्ट बैंकिङले बैंकका शाखाहरूमा हुने ग्राहकको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च घटाउन सकिने बैंकले बताएको छ ।