वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता
चितवन, २८ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता भएको बताएकी छिन् । चितवनको भरतपुरमा शुक्रबारदेखि सुरु भएको पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले नेपालको कृषि क्षेत्रमा वैज्ञानिक कृषि प्रणाली आवश्यक भएको बताएकी हुन् । ‘परम्परागत कृषिबाट हामीले उत्पादन वृद्धि गर्न सक्दैनौँ । त्यसैले आधुनिक प्रविधिको प्रयोग अहिलेको आवश्यकता हो,’ उनले भनिन् ।
निर्वाहमुखी खेतीलाई विस्थापित गरेर प्रविधि र वैज्ञानिक कृषि प्रणाली उन्मुख सरकार रहेको उनले बताइन् । किसानलाई अनुदान दिएर, सहुलियतमा ऋण दिएर पनि प्रोत्साहन दिएको उनको भनाइ थियो ।