भ्याट फिर्ता बन्दको प्रभाव उपभोक्ताको चुलोमा, तेल र चिनि घ्यूको मुल्य बढ्ने
काठमाडौं, जेठ १७ । बजेटमा गरिएको भ्याट फिर्ता बन्दको ब्यवस्थाका कारण खाने तेल र घ्यूको मूल्यमा कम्तिमा पनि प्रतिलिटर २० रुपैयाँ मूल्य बढ्ने देखिएको छ । खाने तेल र घ्यूको अन्तःशुल्क बजेट अघिसम्म मूल्यको २.५ प्रतिशत थियो । सरकारले बजेट मार्फत यस्तो दर बढाएर १० प्रतिशत पुर्याएको छ । यो ब्यवस्थाले खाने तेल र घ्यूको मूल्य प्रतिलिटर २० रुपैयाँ जतिले बृद्धि हुने ब्यापारीहरु बताउँछन् । सरकारले खाने तेल र घ्यूको भ्याटमा ५० प्रतिशत रकम फिर्ता दिदै आएको थियो । यसको वास्तविक अर्थ भनेको खाने तेल र घ्यू उत्पादकले १३ प्रतिशत भ्याट तिर्नुपरे पनि वास्तविक रुपमा उनीहरुले ६.५ प्रतिशत तिर्दा हुन्थ्यो । अब उत्पादकले १३ प्रतिशत नै भ्याट तिर्नु परेपछि उपभोक्तालाई ६.५ प्रतिशत मूल्य यही ब्यवस्थाले बढाइ दिन्छ । यसैगरी सरकारले यसअघिसम्म चिनीको बिक्रीमा पनि ९० प्रतिशत भ्याट फिर्ता दिदै आएको थियो । अब यो ब्यवस्था पनि हटेको छ । यस्तो ब्यवस्थाले चिनीको मूल्य प्रतिकेजी ८ रुपैयाँसम्म महंगो पर्न सक्ने ब्यापारीहरुको भनाइ छ ।यस्तै कपडाहरुमा सरकारले ५० प्रतिशत भ्याट फिर्ता गर्ने गरेको थियो । यस्तो ब्यवस्था हटेपछि कपडा उद्योग नै बन्द गर्नुपर्ने अबस्था आएको एक उद्योगीले बताए ।
राजश्व विभागका अधिकरीहरु भने यस्तो ब्यवस्थाले मूल्य बृद्धि नहुने दाबी गर्छन् । भ्याट फिर्ताको सुविधा ब्यापारीबाट उपभोक्तासम्म नपुगेकोले भ्याट फिर्ता बन्द गर्दा त्यसको असर मूल्यमा नपर्ने दावी गर्छन् ।