अर्थ मन्त्रालयले एक महिनामै गर्यो २३ अर्ब रकमान्तर
काठमाडौं, १७ फागुन । चालू आर्थिक वर्षको माघसम्म अर्थ मन्त्रालयले करिब २३ अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्ंकअनुसार पुँजीगततर्फ एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा माघसम्म २२ अर्ब ७४ करोड रुपियाँ रकमान्तर भएको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पुसमा मात्रै २२ अर्ब दुई करोड रुपियाँ रकमान्तर भएको छ ।
बजेट उपशीर्षकअन्तर्गत सबैभन्दा धेरै ट्रेजरी बिलको सावाँ भुक्तानी गर्न अपुग रकम व्यवस्थापन गर्न १२ अर्ब रुपियाँ रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ । त्यसपछि विकास ऋणको सावाँ भुक्तानतर्फबाट ट्रेजरी बिलको सावाँ भुक्तानीका लागि दस अर्ब रुपियाँ रकमान्तर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै मन्त्रालयले माघसम्म पाँच करोड रुपियाँभन्दा बढी आर्थिक सहायता उपलब्ध गराएको पनि जनाएको छ ।
विभिन्न व्यक्ति तथा संस्थाको नाममा पाँच करोड २१ लख रुपियाँ बराबर आर्थिक सहायता उपलब्ध गराएको तथ्याङ्क छ । यसबाहेक मन्त्रालयले अर्थ विविधि शीर्षकअन्तर्गत २१ अर्ब २० करोड रुपियाँ निकासा दिएको जनाएको छ ।