सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएको छ ः मन्त्री श्रेष्ठ
काठमाडौं, १९ फागुन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपमा लिएको बताएका छन् ।
खिचापोखरी न्यूरोड व्यापार सङ्घको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रका समस्या समाधान हल गर्न प्रयत्नशील रहेको जानकारी दिए ।
निजी क्षेत्रको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव रहेको पनि उनको भनाइ छ । ‘अहिलेको राष्ट्रिय साझा कार्यभार देशलाई समृद्ध बनाउनु हो । यो कार्यभार कुनै एक पक्षले मात्र पूरा गर्न सक्दैन भन्ने स्पष्ट छ । निजी क्षेत्र समस्यामा रहेको बारे सरकार जानकार छ,’ उनले भने ।
आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व रहेको पनि उनले बताए निजी क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको पनि उनको भनाइ छ । ‘आफ्नो दायित्व पूरा गर्नका लागि सरकार र निजी क्षेत्रका आ–आफ्ना भूमिका छन् । निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपले लिएको छ । समाधानका लागि छलफल पनि भइरहेको छ,’ मन्त्री श्रेष्ठले भने ।