मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक, ८७ कम्पनी योग्य
काठमाडौं, २३ फागुन । धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ८७ वटा मात्र योग्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दैै ८७ मात्र योग्य रहेको जनाएको हो ।
नेप्सेका अनुसार १७ वाणिज्य बैंक, आठ विकास बैंक, चार वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी, चार जीवन बीमा कम्पनी, पाँच निर्जीवन बिमा कम्पनी र ३० लघुवित्त कम्पनी मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।
सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढीको सेयर खरिद गर्न पाउने व्यवस्था मार्जिन कारोबार हो । यसका लागि धितोपत्र दलालले सुविधा उपलब्ध गराउँछन् । मार्जिन कारोबारलाई व्यवस्थित गर्नका लागि नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४’ जारी गरेको छ ।
सोही निर्देशनानुसार मार्जिन कारोबारका लागि तोकिएका योग्य कम्पनीहरूको सेयर कारोबार गर्ने लगानीकर्ताहरूले मात्र यस्तो सुविधा पाउँछन् । पछिल्ला दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेका कम्पनीहरूमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सकिनेलगायत व्यवस्था निर्देशनले तोकेको छ । रासस