कालीगण्डकी प्रसारण लाइन : तीन वर्षदेखिको अवरोध हटाइँदै
काठमाडौं, २४ फागुन । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा तीन वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो ।
फलेवास–६ देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार टावर निर्माण हुन सकेका छैनन् । लामो समयसम्म काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणको टोलीले पहल थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोषसहितको टोलीले स्थलगत निरीक्षण गरी काम अघि बढाउन पहल गरेको हो । टोलीले स्थानीयसँग छलफल गरेको थियो ।
कालीगण्डकी र यसका सहायक खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि यो लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन टोलीले आग्रह गरेको छ । लाइन अभावमा जलविद्युत् आयोजनाको विद्युत् मुख्यरुपमा वर्षायाममा प्रवाह गर्न नसकिएकाले यसबाट मुलुकलाई ठूलो क्षति भइरहेकाले निर्माणमा सहयोग गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले अनुरोध गरे ।
प्रसारण लाइनको टावर सार्न सम्भव भए÷नभएको विषयमा प्राविधिक टोलीले चार÷पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको छ । ‘प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो । तर स्थलगत निरीक्षणका क्रममा विद्यालय नपर्ने देखिएको छ,’ घिसिङले भने, ‘सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिकरुपमा सम्भव भएसम्म टावरलाई रङ्गशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ ।’
विद्यालयलाई जोगाएर प्राविधिकरुपमा सम्भव भएसम्म रङ्गशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने घिसिङको भनाइ छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।