आगामी बजेट कस्तो आउनुपर्छ ? यस्तो छ विज्ञहरूकाे सुझाव

काठमाडाैं, ३१ वैशाख । संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गते ल्याउनुपर्ने बजेट निर्माणमा यतिबेला सरकार व्यस्तता बढेको छ । सरकारले वर्षेनि नीति तथा कार्यक्रम र बजेट ल्याउँछ, जुन नियमित प्रक्रिया हो । तर यस वर्ष आउन लागेको बजेटलाई आम निजीक्षेत्र, विज्ञ र सर्वसाधारणले विशेष चासोका साथ हेरेका छन् ।
किनकि मुलुकको अर्थतन्त्र मन्दी उन्मुख बनेको अवस्थाका बीच आगामी आर्थिक वर्षको बजेट आउँदै छ । एकातिर महंगो बैंक ब्याजदर, मागमा आएको कमीले निजीक्षेत्रको मनोबल गिरेको र अर्कातिर बढ्दो मूल्यवृद्धिले आम सर्वसाधारण मारमा परेको अवस्था छ ।
मुलुकका बाह्य क्षेत्र सकारात्मक देखिए पनि आन्तरिक रूपमा भने अर्थतन्त्र अप्ठ्यारो स्थितिमै छ । यस्तोमा दुवै क्षेत्रलाई सन्तुलनमा राख्दै अर्थतन्त्रलाई उकास्नेगरी कसरी बजेट ल्याइनुपर्छ त ? यसै विषयमा रहेर आईबिएन मिडिया एन्ड रिसर्चले आइतवार ललितपुरमा अर्थवृत्त एवं निजीक्षेत्रका प्रतिनिधिहरूबीच सघन अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा अर्थशास्त्री एवं पूर्वासांसद डा. डिल्लीराज खनालले अर्थतन्त्रको विद्यमान वस्तुस्थितिलाई नजिकबाट नियालेर यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
यस्तै उक्त कार्यक्रममा मुलुकको अर्थतन्त्र स्थायित्वका लागि सरकार र केन्द्रीय बैंकको नीतिमा तादात्म्य हुनुपर्नेमा अर्थशास्त्री डा. पुस्कर वज्राचार्यले जोड दिए।
कार्यक्रममा सरकारको बजेट निर्माणमा समेत सहभागी भइसक्नुभएको अर्थशास्त्री केशव आचार्यले सरकारलाई स्रोतको अभाव छ भन्ने भाष्य गलत रहेको भन्दै स्रोत जुटाउन सकिने क्षेत्रहरूबारे सुझाए ।
यस्तै करको क्षेत्रमा दखल राख्ने अर्थविद् डा. चन्द्रमणि अधिकारीले नीतिगत र स्रोतगत रूपमा चुस्त बजेट आउनुपर्ने बताए । कार्यक्रममा अर्थशास्त्री एवं आईईडिएसका कार्यकारी निर्देशक डा. विश्वास गौचनले आर्थिक, वित्तीय र बजेट प्रणालीमै सुधारको खाँचो औँल्याए ।