Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक : अर्थमन्त्री डा. महत

बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक : अर्थमन्त्री डा. महत

काठमाडाैं, १ जेठ ।अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन । नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले बीमा क्षेत्रको नियामकका रुपमा रहेको प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे–नगरेको बारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।

‘पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बीमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो बनाउन आवश्यक छ’, उनले भने ।

बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्ने उनको भनाइ छ । बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताए । उनले भने,  ‘यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन ।  बीमा पोलिसी दिँदा जे जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए÷नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ’।

सार्वजनिक संस्थानमा चरम राजनीतिक हस्तक्षेप हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा महतको भनाइ छ । त्यस्तै, स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीमा र वित्तीय क्षेत्रको नियमनका लागि वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँलाए । प्राधिकरणले नियामकका रुपमा स्वतन्त्र ढङ्गले आफ्नो काम गर्नुपर्नेमा उनले जोड दिए।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पछिल्लो समय बीमा व्यवसायबारे नागरिकस्तरमा बुझाइ बढ्दै गएको बताए । यद्यपि तल्लो तहसम्म र सीमान्तकृत नागरिकलाई समेत समेट्ने गरी बीमा सेवा विस्तार हुन नसकेको बताउँदै उनले सरकारले बीमासम्बन्धी नीति परिवर्तन गर्नुपर्ने आवश्यकता समेत औँलाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x