लगानीमैत्री औद्योगिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ: उद्योग मन्त्री रिजाल
काठमाडौं, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले लगानीमैत्री औद्योगिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेकाे बताएका छन् ।नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको मेक इन नेपाल सम्मेलनको उद्घाटन गर्दै उनले लगानीमैत्री औद्योगिक वातावरणको निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोतको सदुपयोगको लागि आवश्यक वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध रहेकाे बताएका हुन् ।
यस्तै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचकाे समन्वय र सहकार्य थप प्रभावकारी हुनु पर्ने बताउँदै औद्योगिकरणको उचित विकास विना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नहुने बताए ।
स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन एवं निर्यात बढाउन गरिनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षका सम्बन्धमा सम्मेलनबाट आउने सुझाबलाई सरकारले ग्रहण गर्ने समेत उनकाे भनाइ छ।
यस्तै कार्यक्रमकाे उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले उद्योगी र व्यवसायी लाइसेन्स लिन सक्रिय भएकाले यसको सुधार हुनुपर्ने बताए। पहिले उद्योगीहरूले आफ्नै उद्योगको फाइदामा लबिङ गर्ने गरेकाे भए पनि अहिले राष्ट्रिय परिपेक्षबाट मुद्दा उठान र लबिङ गरेकाे उनकाे भनाइ छ । यसका लागि लाइसेन्स पाउन नेता र मन्त्रीको दैलो चहार्ने प्रवृतिकाे अन्त्य हुनुपर्ने बताए ।
यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आगामी बजेटमा नेपाली उत्पादनलाई प्रयोग गर्ने गरी ‘मेक इन नेपाल’ बुँदा समावेश हुनु पर्ने धारणा व्यक्त गरेका छन् । आयात प्रतिस्थापन गर्न नेपाली उत्पादन रोज्नु पर्ने उनकाे भनाइ छ । उनले सरकारले स्वदेशी बस्तु प्रयोग गर्ने नीति अपनाउनु पर्ने र यसका लागि सरकारले आगामी बजेटमा नै व्यवस्था गर्न पर्ने बताएका हुन् ।
यस्तै उनले उद्योग परिसंघले वार्षिक ५ लाख रोजगारी सिर्जना गर्न ‘मेक इन नेपालको परिकल्पना गरेको भन्दै नीतिगत स्थिरताबिना दीगो विकास सम्भव नहुने र लगानी बढाउने वातावरण बनाउनु पर्नेमा जाेड दिए ।