एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा
काठमाडौं, ८ असार । चालु आर्थिक वर्ष २०७९–८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा रु १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल रु. १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर्दा रु एक खर्ब ४३ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको हो ।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२ दशमलव ७४ र कूल व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको छ । कूल वैदेशिक व्यापार घटेसँगै गत वर्षको तुलनामा व्याघार घाटा पनि १५ दशमलव २१ प्रतिशतले घटेको छ ।
यो अवधिमा मुलुकले कूल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ ।
नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा रु आठ खर्ब ३८ अर्ब ८५ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट रु नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात हुँदा रु ९८ अर्ब ९७ करोड बराबरको मात्रै निर्यात भएको देखिन्छ ।
त्यस्तै, चीनबाट रु दुई खर्ब दुई अर्ब ३७ करोडको वस्तु आयात हुँदा रु एक अर्ब ५२ करोडको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा रु दुई खर्ब ८४ करोड बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग रु ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्ससँग रु ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग रु २३ अर्ब ४७ करोड रहेको छ ।