Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मौद्रिक नीतिको सन्तुलित र प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको जोड

मौद्रिक नीतिको सन्तुलित र प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको जोड

काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकले अघिल्लो साता सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत गरेका व्यवस्था कार्यान्वयनका लागि सम्बद्ध निकायलाई एकीकृत निर्देशिका जारी गर्न थालेको छ । यस वर्षको मौद्रिक नीतिप्रति निजीक्षेत्रको निकै ठूलो अपेक्षा थियो । विशेषगरी गत आर्थिक वर्षमा कसिलो मौद्रिक ल्याउँदा आर्थिक व्यावसायिक क्षेत्र प्रभावित भएको भन्दै यसपटक खुकुलो मौद्रिक नीतिको माग निजीक्षेत्रले गरेको थियो । तर यसपटक तत्कालीन अवस्थालाई ध्यानमा राख्दै सजकता पूर्वक खुकुलो मौद्रिक नीति आएको छ । यस्तोमा निजीक्षेत्रको मनोबल उकास्न, बजेटले लिएका लक्ष्य प्राप्ति र समग्र वित्तीय एवं आर्थिक स्थायित्वका लागि यसको प्रभावकारी कार्यान्वयनको खाँचो देखिन्छ । यसै विषयमा केन्द्रित रही आईबिएन मिडिया एन्ड रिसर्चले आइतवार मौद्रिक नीतिको समीक्षात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा उठेका विषयवस्तुलाई सम्बोधन गर्दै गभर्नर महाप्रसाद अधिकारीले यसपटक सन्तुलित मौद्रिक नीति आएको दाबी गरे । पछिल्लो समय नेपालको बाह्य क्षेत्र सहज अवस्थामा देखिएको । सरकार र केन्द्रीय बैंकले लिएका नीतिगत व्यवस्थाले सृजना भएको यो अवस्थालाई दृष्टिगत गरेर यसपटक नीतिगत दर घटाइएको गभर्नर अधिकारीले बताए ।

कार्यक्रमको पहिलो सत्रमा मौद्रिक नीतिका लक्ष्य, उद्देश्य र भावी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्दै पूर्व बैंकर एवं बैंकिङ विज्ञ अनलराज भट्टराईले यस वर्ष सजगतापूर्वक ललिचो मौद्रिक नीति आए तापनि कर्जा विस्तार लगायत लक्ष्य प्राप्तिमा भने चुनौती देखिएको औंल्याए । कार्यक्रममा प्रस्तुत कार्यपत्रमा टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले अर्थतन्त्रको वृद्धिमा सकारात्मक सहयोग पुग्नेगरी नै निजीक्षेत्रमा जाने कर्जाको वृद्धिमा ११.५ प्रतिशतको लक्ष्य राखिएको स्पष्ट पारे । साथै आर्थिक वृद्धिदर हासिल गर्न तिनै तहका सरकारले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्थविद् एवं निजीक्षेत्रका प्रतिनिधिहरूले मौद्रिक नीतिका लक्ष्य र यसले गरेका व्यवस्थाप्रति टिप्पणी गरेका थिए । आर्थिक एवं वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले बृहत् अध्ययन, अनुसन्धान र सुजुबुझका साथ नीति तय गर्नुपर्ने धारणा छलफलमा सहभागीहरूको थियो । कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विश्वभर ब्याजदर बढेको अवस्थामा आएको यस वर्षको मौद्रिक नीति सकारात्मक रहेको टिप्पणी गर्नुभयो । साथै यसको कार्यान्वयनले अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री झपट बहादुर बोहराले मौद्रिक नीतिमार्फत कर्जा विस्तारमा राखिएको लक्ष्य व्यावहारिक रहेको धारणा राखे ।

कार्यक्रम आईबिएन मिडिया एन्ड रिसर्चका प्रबन्ध निर्देशक हृदयराज गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, कार्यकारी निर्देशकलगायत उच्चपदस्थ पदाधिकारीका साथै बैंक तथा वित्तीय संस्था र निजीक्षेत्रका छाता संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । कार्यक्रममा नेपाल बैंक, हिमालयन बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र प्रोग्रेसिभ फाइनान्सले सहकार्य गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x