महालेखापरीक्षक बन्न १६ जनाको आवेदन, कसले मार्ला बाँजी ?
काठमाडौं, ६ भदौं । गत जेठ ७ मा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल घर फर्किएसँगै रिक्त रहेको महालेखापरीक्षक बन्न बहालवाला सचिवदेखि चार्टड एकाउण्टेन्टसम्मले इच्छा व्यक्त गरेका छन् । संवैधानिक परिषद्को सचिवालयले रिक्त रहेको महालेखापरीक्षक पदका लागि आवेदन माग गरेको थियो ।
जसमा १६ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा तीन बहालवाला सचिव छन् । त्यसमा महेश्वर काफ्ले, वामदेव शर्मा अधिकारी र तोयम राय छन् । काफ्ले र अधिकारी हाल महालेखापरीक्षक कार्यालयमै उपमहालेखापरीक्षक छन् भने राय राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख छन् ।
यस्तै आठजना पूर्वसचिवले आवेदन दिएका छन् । त्यसमा शिशिरकुमार ढुंगाना, गोपीनाथ मैनाली, रामशरण पुडासैनी, हरि बस्याल, शंकर खरेल, रामप्रसाद थपलिया, राममाया कुँवर र बाबुराम गौतम छन् । महालेखापरीक्षक कार्यालयमै कार्यरत दुई सहसचिव (नायब महालेखापरीक्षक) वैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारीले पनि आवेदन दिएका छन् । महालेखापरीक्षक कार्यालयबाटै सेवानिवृत्त भएका सहसचिव अशोक कार्कीको पनि आवेदन परेको छ भने दुई सिए सुबोधकुमार कर्ण र हरि सिलवालको पनि आवेदन परेको छ।
महालेखापरीक्षकको पदावधि ६ वर्ष हुन्छ ।