वैदेशिक अध्ययन : जनशक्तिसँगै पुँजी पनि पलायन, एक दशकमा ४ खर्ब ५५ अर्ब बाहिरियो
काठमाडौं, २४ भदौं । पछिल्ला वर्षमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुको संख्या बढेको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आर्जन पनि हुने भएकाले अधिकांश उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको हो । यसले नेपालको प्रतिभासँगै पूँजी पनि पलायन भइरहेको छ ।
शिक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले विदेश अध्ययनका लागि एनओसी लिए । पछिल्लो एक दशकमा ५ लाख ४२ हजार भन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनमा गएका छन् । सोही दरमा विदेशी मुद्रासमेत बढ्दो दरमा विदेशीइरहेको छ । २०७०–०७१ मा वैदेशिक अध्ययनबापत १५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएकोमा गत वर्ष १ खर्बभन्दा बढी पुगेको देखिन्छ ।
अब हेरौ, अध्ययनका लागि कुन वर्ष कति रकम बाहिरियो ?
आर्थिक वर्ष २०७०–०७१ मा –१७ अर्ब ८८ करोड
आर्थिक वर्ष २०७१–०७२ मा –२० अर्ब १२ करोड
आर्थिक वर्ष २०७२–०७३ मा –२४ अर्ब ९ करोड
आर्थिक वर्ष २०७३–०७४ मा –४० अर्ब ४२ करोड
आर्थिक वर्ष २०७४–०७५ मा –४४ अर्ब २२ करोड
आर्थिक वर्ष २०७५–०७६ मा –५३ अर्ब ४८ करोड
आर्थिक वर्ष २०७६–०७७ मा – २९ अर्ब ६७ करोड
आर्थिक वर्ष २०७७–०७८ मा –२८ अर्ब ३६ करोड
आर्थिक वर्ष २०७८–०७९ मा –१ खर्ब १४ अर्ब
आर्थिक वर्ष २०७९–०८० मा विदेशिएको रकम १ खर्ब १५ अर्ब
एक दशकमा कुल ४ खर्ब ५५ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिएको छ । अध्ययनार्थ विदेशिएका विद्यार्थीको देशगत तथ्यांक केलाउँदा अति विकसित देशहरू जस्तैः अष्ट्रेलिया, जापान, क्यानडा, अमेरिका र युरोप जानेको संख्या बढी छ। रोजगारी, गुणस्तरीय जीवनको सुनिश्च्तिता तथा सामाजिक सुरक्षालगायत आकर्षणका कारण ती देशमा गएका विद्यार्थी अन्ततः सोही देशको स्थायी बासिन्दामा परिणत हुँदै गएका छन्।