सेप्सेम्बर ११ आक्रमणपछि कस्तो बनाइयो विमानस्थलको सुरक्षा व्यवस्था ?
काठमाडौं, २५ भदौ । अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीहरूले ४ यात्रुवाहक विमानहरूलाई एकपछि अर्को गर्दै आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा ध्वस्त गरिदिँदा हजारौँ मानिसहरूले ज्यान गुमाए । तीमध्ये २ विमान न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टर र एक विमान वाशिङ्टनको पेन्टागनमा ध्वस्त गरिएको थियो ।
उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना थियो । ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार भन्दा बढीको मृत्यु भएको थियो । आक्रमणमा अर्बौं डलर क्षति भएको थियो । साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो ।
२००१ को सेप्टेम्बर ११ अघि अमेरिकामा हवाई यात्रुहरू आफ्नो उडानको ३० मिनेटअघि मात्र विमानस्थल आइपुग्थे । एयरपोर्टहरुमा आइडी कार्ड हेर्ने बाहेक अरु कुनै चेकिङ हुँदैन थियो । उक्त घटनापश्चात् तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुशले उड्डयन र यातायात सुरक्षा ऐनमा हस्ताक्षर गरे । यातायात सुरक्षाका लागि कानुन बनाए । र विमानस्थलको सुरक्षालाई केन्द्रीकृत गरेर धेरै एयरपोर्ट सुधारका कामहरु गरिए ।
यस्तै हरेक विमानस्थलमा विष्फोटक र अन्य खतरनाक हतियारहरूका लागि झोलाहरू स्क्यान गर्न सक्ने मेसिन राखियो र चेक गरिएका सामानहरूको १०० प्रतिशत स्क्रिन गर्ने जनादेश जारी गरियो ।
आपराधिक गतिविधि र आतंकवाद विरुद्ध व्यावसायिक विमान रक्षाका लागि पाइलटहरुलाई तालिम दिएर हतियार राख्न अनुमति दिइयो । उडान चालक दलका सदस्यहरूलाई ट्राफिक सुरक्षा प्रशासनद्वारा आफ्नो विमानको नियन्त्रण प्राप्त गर्नको लागि गरिएको आपराधिक हिंसा वा हवाई पाइरेसी विरुद्ध रक्षा गर्न बन्दुक प्रयोग गर्न अधिकार दिइयो ।
२००१ को आक्रमणपछि अमेरिकका सबै प्रमुख हवाई सेवाप्रदायक कम्पनीले अपहरणकर्ताको पहुँच विरुद्ध आफ्नो ककपिटहरूलाई सुदृढ बनाए । यस्तै उक्त घटनापूर्व यात्रा गर्न लागेका व्यक्तिलाई परिवार र साथीहरूले यात्रुहरूलाई विमानस्थल भित्रबाटै हवाईजहाज चढ्दासम्म हेर्न सक्थे । विमानबाट झर्दा समेत लिन जान सक्थे तर उक्त आक्रमणपछि टिएसए (ट्रान्सपोर्ट सेक्युरेटी एडमिस्ट्रसन) ले टिकट लिएका यात्रुलाई मात्र त्यसको अनुमति दिइयो । हाल अमेरिकाभरिका विमानस्थलका ५० हजार कर्मचारीले दैनिक २० लाख हवाई यात्रुको फुल बडी स्क्यान गर्ने र मापदण्ड बाहिरका वस्तु जफत गर्ने गरेका छन् ।