सरकारको आम्दानी गत वर्षको भन्दा ६ अर्ब ५८ करोड रुपैयाँले कम
काठमाडौं, ३१ भदौ । चालू आर्थिक बर्षको भदौ २९ सम्म सरकारको आम्दानी १ खर्ब ४९ अर्ब रुपैयाँ छ । गत वर्षको भदौ २९ सम्म सरकारको आम्दानी १ खर्ब ५६ अर्ब रुपैयाँ थियो ।
यसपटक दोस्रो महिनामै सरकारको आम्दानी गत वर्षको भन्दा ६ अर्ब ५८ करोड रुपैयाँले कम छ । सरकारले अर्थतन्त्रलाई गतिदिन नसक्दा अर्थतन्त्रमा प्रमुख क्षेत्र शिथिल अवस्थामै छन् । जसको सिधा असर सरकारको आम्दानी परेको अर्थशास्त्री दिलनाथ दङ्गाल बताउँछन ।
सरकारले लगाएको आयात प्रतिबन्ध पनि हटेको छ । महंगा गाडीदेखि मोबाइलसम्मका सामान ल्याउन कुनै बन्देज छैन । यो अवस्थामा पनि राजस्व बढ्न नसक्नु गम्भीर विषय हो उनले भने ।
सरकाले बजार नै चलायमान बनाउन नसकेका कारण व्यवसायी खासै उत्साहित छैनन् । यो अवस्थामा सरकार खर्च कटौती गर्ने र व्यवसायीमा कसरी उत्साह भर्ने भन्दा पनि कर्मचारी कसरी भर्ती गर्ने भनेर अस्थायी दरबन्दी सृजना गर्दै बसेको छ ।
अर्थमन्त्रीको निर्देशनमा चल्ने समग्र अर्थतन्त्रलाई उपयुक्त निर्देशनको कमि, प्रभावकारी नीति र महत्वकांक्षी लक्ष्यका कारण अर्थतन्त्र झनझन शिथिल बन्दै गएको छ। अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक कमद चाल्न नसक्दा यो वर्ष अर्थतन्त्र सुध्रने र सरकारको आम्दानी बढ्ने सम्भावना कमजोर बन्दै गएको छ । गत वर्ष सरकारको आम्दानी र खर्चबीचको खाडल २ खर्ब पुगेको थियो । सुरुवाती दुई महिनाको सरकारको क्रियाकलाप र शिथिल अर्थतन्त्रको अवस्था हेर्दा थप बढ्ने अनुमान छ ।