५.८९ अंकले घट्यो शेयर बजार, १ अर्ब ५६ करोडको कारोबार

काठमाडौं, ८ असोज । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार ५.८९ अंकले घटेको छ । यस दिन बजार मापक नेप्से परिसूचक उक्त अंकले करेक्सन भई २००४.४५ अंकमा समेटिएको छ ।
सोमवार २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस दिन जलविद्युत् र म्युचुअल बाहेक सबै समूहको उपसूचक घटेका छन् । घटेको बजारमा माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर मन्दाकिनी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशतले बढेको छ ।
शेयरमूल्यमा नकारात्मक सर्किट लाग्ने कम्पनीमा भने शुभम पावर र थ्री स्टार हाइड्रोपावर रहेका छन् । यस्तै अपर लोहरे खोला हाइड्रोपावरको शेयरमूल्य पनि करीब १० प्रतिशतले घटेको छ ।