अख्तियारको अनुसन्धान : भ्रष्टाचार गर्नेमा पहिलो कर्मचारी, दोस्रो जनप्रतिनिधि
काठमाडौैं, १६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९÷८० को अवधिमा १ सय ६२ वटा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सो अवधिमा कुल २० हजार ९ सय ५ उजुरीहरू परेकामा अख्तियारले ७ सय ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
त्यसै गरी जिम्मेवारी सरेर आएका ७ हजार १ सय ६२ उजुरीहरूसहित कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेकोे छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बुझाएको ३३ औं वार्षिक प्रतिवदेनमा उक्त जानकारी समेटिएको छ ।
आयोगले एक वर्षमा एक अर्ब ७७ करोड रुपैयाँ बिगो मागदाबी गरेर मुद्दा दायर गरेको जनाएको छ । भ्रष्टाचार मुद्दा लाग्ने ७ सय ६० जनामध्ये ३ सय ५५ जना कर्मचारी छन् भने २ सय २६ जना निर्वाचित पदाधिकारी छन् । बाँकी १ सय ७८ जना बिचौलिया रहेको आयोगले जनाएको छ ।