चाडपर्वलाई लक्षित गरी डीडीसीले गर्याे सहुलियत मूल्य घोषणा
काठमाडाैं,२८ असाेज। दुग्ध विकास संस्थान (डीडीसी) ले दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्य घोषणा गरेको छ । संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा मेला घोषणा गर्दै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयासम्म छुट पाइने जनाएको हो ।शनिबार एक विज्ञप्ति जारी गर्दै संस्थानले आफ्नो १४ प्रकारका वस्तुहरुमा छुटको घोषणा गरेको छ ।
नयाँ छुटअनुसार घिउ प्रतिलिटरमा ५० रुपैयाँ छुट दिइएको छ । १ हजार २ सय रुपैयाँदेखि १ हजार २५० रुपैयाँ साविकको मूल्यलाई १ हजार १५० देखि १ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको छ । पनिरमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । अब आधा किलोको पनिर किन्दा ४५० र २०० ग्रामको पनिर किन्दा १९० रुपैयाँमा पाइन्छ ।
टेबल बटरमा प्रतिकिलो २ सय रुपैयाँसम्म छुट दिइएको छ । डीडीसीले उत्पादन गर्ने २५० ग्रामको उक्त बटरको मूल्य छुटपछि ३५० रुपैयाँ कायम भएको छ । जार दहीमा प्रतिलिटरमा १५ रुपैयाँ छुट दिइएको छ । १९० रुपैयाँ प्रतिलिटर मूल्यको दही अब १७५ रुपैयाँमा पाइने भएको छ । यस्तै, पोली दहीमा प्रतिलिटर १४ रुपैयाँ छुट दिइएको छ । १७० रुपैयाँ प्रतिलिटरको दही अब १५६ रुपैयाँमा पाइन्छ । प्रोबायोटिक दही जारको प्रतिलिटरमा २० रुपैयाँ छुटपछि २०० रुपैयाँ मूल्य कायम गरिएको छ ।