Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच तथ्याङ्क र सूचना आदानप्रदानसम्बन्धी समझदारी

राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच तथ्याङ्क र सूचना आदानप्रदानसम्बन्धी समझदारी

काठमाडाैं, १७ कात्तिक । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ ।

गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरे ।

उक्त समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्याङ्क र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउनेछन् ।

त्यसको निम्ति महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ ।

साथै, बैंकले समयसमयमा गर्ने आकस्मिक तथा विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्याङ्क र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले बैंकलाई उपलब्ध गराउने समझदारी भएको छ ।

महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्याङ्क नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले अध्ययन / विश्लेषण तथा एकीकृत रूपमा प्रकाशन गर्ने प्रयोजनको लागि मात्र उपयोग गरिनेछ ।

सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्याङ्क र सूचनाको पूर्ण रूपमा गोपनीयता कायम गरिने दुईपक्षीय समझदारी छ ।

त्यसरी उपलब्ध गराइएको तथ्याङ र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययन अनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग नगरिने समझदारी भएको छ । तथापि, उद्योग / व्यवसायको पहिचान नहुनेगरी प्रकाशित भएको तथ्याङ्क र सूचनाको उपयोगमा भने बाधा पर्ने छैन ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्याङ्क र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसै गरी, महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्याङ्क र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंकका निर्देशकद्वय मुक्तिनाथ सापकोटा र नारायणप्रसाद पोखेल तथा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x