के हो ग्रीन हाइड्रोजन ? कति छ नेपालको उत्पादन क्षमता ?
काठमाडौं, १० माघ । विश्वभर ग्रीन हाइड्रोजन उत्पादनको लहर चलेका बेला सरकारले नीति ल्याएर वैकल्पीक उर्जा उत्पादन र निर्यातको ढोका खोलेको छ । विभिन्न अध्ययन अनुसन्धानले हाइड्रोजनका लागि आवश्यक पर्ने पानी र बिजुली नेपालमा प्रयाप्त भएकाले यसको उत्पादन सम्भाव्यत्ता उच्च छ ।
प्राम्भिक अध्ययनले वर्षायाममा बचत हुने बिजुलीबाट मात्रै सन् २०३० सम्म ३ लाख ५० हजार मेट्रिक टन हाइड्रोजन उत्पादन हुन सक्ने देखाएको छ । यो अवस्थामा सरकारले नीति ल्याउनु सकारात्मक भएको भन्दै तत्काल यसको उत्पादन सम्बन्धि ऐन तथा नियमावली तर्जुमा मापदण्ड निर्माण गर्नुपर्ने विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुशल गुरुङले बताए ।
ग्रीन हाइड्रोजन नीतिमा ग्रीन हाइड्रोजन तथा यसको सहउत्पादन गर्ने उद्योगहरुलाई निश्चित अवधिको लागि आय करमा छुट प्रदान गर्ने, ग्रीन हाइड्रोजन तथा यसको सहउत्पादन गर्ने उद्योग स्थापनाका लागि आवश्यक उपकारण आयात गर्दा लाग्ने भन्सार दर तथा महसुलमा सहुलियत प्रदान गर्ने, उद्योगहरुलाई मूल्य अभिवृद्धि कर, अन्तः शूल्क लगायतका शूल्कमा छुट प्रदान गर्न सकिने व्यवस्था गर्ने, हाइड्रोजन उत्पादनको लागि उद्योगले छुटै विद्युत आयोजना विकास गरी विद्युत आफै खपत गरेमा विद्युत रोयल्टी छुट गर्न सकिने उल्लेख छ ।
यस्तै ग्रीन हाइड्रोजन उत्पादनका लागि नेपाल सरकारले सहुलियत दरमा विद्युत उपलब्ध गराउन सक्ने, ग्रीन हाइड्रोजनको उत्पादन, उपयोग, भण्डारण र ढुवानीका लागि आवश्यक पर्ने जग्गा कानून बमोजिम प्राप्तीका लागि सहजीकरण गर्ने उल्लेख छ । तर त्यो कहिलेसम्म हुन्छ भन्ने स्पष्ट छैन । सरकारले तत्काल यो कार्यान्वयन गर्ने गरि कानूनी र संस्थागत संरचना निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
विश्वबजारलाई आधार मान्दा यसको उत्पादन लागत प्रतिकेजी करिब ५ डलर छ । जलविद्युत उत्पादन बढ्दै जाँदा अन्य देशको तुलनामा नेपालमा भने यसको लागत केही कम पर्ने अनुमान छ ।
के हाे ग्रीन हाइड्राेजन ?
जलविद्युत जस्ता नवीकरणीय उर्जाबाट पानीलाई छुट्याएर निकालिने हाइड्रोजनलाई ग्रीन हाइड्रोजन भन्निछ । यसलाई जलाउँदा कार्बन डाइअक्साईड जस्तो हरितगृह ग्यास उत्सर्जन हुँदैन । हाइड्रोजन इलेक्ट्रोलाइजर मेसिन प्रयोग गरेर पानीबाट प्रशोधन गरिन्छ । पछिल्लो समय नेपालले विद्युत उत्पादनमा ठूलो फड्को मारिसकेको छ । १० हजार मेगावाटभन्दा बढीका जलविद्युत आयोजना विकासको विभिन्न चरणमा छन् । यसले गर्दा पनि ग्रीन हाइड्रोजन उत्पादनको ठूलो सम्भाना छ । ग्रीन हाइड्रोजनलाई केमिकल पिडस्टकको रुपमा रासायनिक मल उद्योग, स्टील उद्योग, यातायातमा समेत प्रयोग गर्न सकिन्छ । त्यति मात्र होइन एलपिजी ग्यास जस्तै हाइड्रोजन ग्यास सुरक्षित तरिकामा ओसारपसार गर्न सकिन्छ हुँदा यसको निर्यात सम्भावना पनि उत्तिकै छ ।