७ महिनामा बैंक तथा वित्तीय संस्थाको करिव २ खर्ब कर्जा लगानी, कुन क्षेत्रमा कति ?
काठमाडौं, २८ फागुन । चालू आर्थिक बर्षको ७ महिना माघसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको राष्ट्र बैंकले जनाइको छ। केन्द्रीय बैंकका अनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९७ अर्ब २१ करोडले बढेको देखिन्छन् ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ४८ अर्ब १२ करोडले बढेको थियो। राष्ट्र बैंकका अनुसार २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो।
यस्तै निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ। माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ।
यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०८०/८१ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले बढेको छ।
सात महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशतले, नगद प्रवाह कर्जा २६.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ११.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ११.६ प्रतिशतले बढेको छ ।