१७ वाणिज्य बैंकले ब्याजदर घटाउँदा एनआईसी एसियाको बढ्यो
काठमाडौं, ३० फागुन । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार कुल २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् भने एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ ।
एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ५४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा यस्तो ब्याजदर ८ प्रतिशत थियो । त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७ दशमलव ५४ प्रतिशत पुर्याएको जनाएको छ ।
बैंकहरुको ब्याजदर औसतमा शुन्य दशमलव ५०४२ प्रतिशत विन्दुले घटेको हो । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ७ दशमलव ७५ प्रतिशत विन्दु रहेको २० बैंकहरुको अधिकतम औसत ब्याजदर चैत महिनामा घटेर ७ दशमदलव २५ प्रतिशत विन्दुमा झरेको छ ।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने बढेको छ । फागुनमा ५ दशमलव ७४ प्रतिशत विन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा शून्य दशमलव २६ प्रतिशत विन्दुले बढेर ६ प्रतिशत पुगेको छ ।
फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन् । यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १दशमलव ५ प्रतिशत विन्दुले घटाएका छन् भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव ५ प्रतिशत विन्दुले घटाएका छन् ।
तर, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी दुई बैंकले चैत महिनामा पनि व्यक्तिगत मुद्दतीमा ७ दशमलव ५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन् । यद्यपि, यी दुई बैंकहरुको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशत विन्दुले बढेको छ।
त्यस्तै, कृषि विकास बैंकको ब्याजदर सबैभन्दा कम रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ५ दशमलव ६६१ प्रतिशत र संस्थागत मुद्दतीमा अधिकतम ४ दशमलव शून्य १ प्रतिशतका दरले ब्याज दिने भएको छ ।