कृषि विकास बैंक र एफवान सफ्ट बीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता
काठमाडौं, १८ असार । कृषि विकास बैंक र एफवान सफ्ट इन्टरनेसनल प्रालि बीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता भएको छ।
सम्झौता अनुसार कृषि विकास बैंकका ग्राहकहरुलाई इन्टरनेट मार्फत बैंकिङ सुविधा एफवान सफ्टले उपलब्ध गराउनेछ।
बैंकको इन्टरनेट बैंकिङ सेवाबाट उपभोक्ताले आफ्नो खाताका बारेमा पूर्ण जानकारी लिन, रकमट्रान्सफर गर्न, स्टेटमेन्ट हेर्नुका साथै बिभिन्न किसिमका बिलहरुको भुक्तानी गर्न सक्ने प्रेस बिज्ञप्तीमा उल्लेख छ।
यसैगरी उपभोक्ताले ब्यावसायिक प्रयोजनका लागि पनि इन्टरनेट बैंकिङ मार्फत तलब ब्यबस्थापन र दुईवटा सही मार्फत चल्ने खाताको ब्यबस्थापन गर्न सक्ने बताइएको छ।
बैंकका अनुसार इन्टरनेट बैंकिङ मार्फत उपभोक्ताले अन्य ४५ वटा बैंकहरुसँग अन्तर बैंकिङ कारोबार गर्न सक्ने तथा इसेवा वालेटमा रकम पठाउन सक्नेछन्।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे।
एफवान सफ्ट इन्टरनेसनलले नेपालका ९० प्रतिशत भन्दा बढी बित्तीय संस्थाहरुलाई मोबाइल तथा इन्टरनेट बैंकिंङ सेवा दिँदै आएको जनाएको छ।सन् २००४ मा स्थापना भएको एफवान सफ्टमा प्रविधि विकास तथा ब्यबस्थापनका लागि ३ सय ५० भन्दा बढी कर्मचारी कार्यरत छन्।